RSDC Rukum

Rukumeli Samaj Bikas Kendra

पढाई सुधार्न ‘उपचारात्मक कक्षा’

हरि गौतम

 

रुकुम — बाल कल्याण आधारभूत विद्यालय चौरजहारी नगरपालिका ११, मुलडाँडाको कक्षा ३ की भरमाया डाँगी हरेक दिन कक्षाका अलावा ९० मिनेट छुट्टै पढिन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्यालयमा पढ्ने उनी तीन महिनासम्म छुट्टै कक्षा पढिन् । जनप्रिय मावि सानीभेरी गाउँपालिका ९ को कक्षा २

मा पढ्ने यामराज ओली पनि विद्यालय सँगसँगै छुट्टै कक्षामा सहभागी भए ।

पढाइ सुधार्न जनप्रिय मावि सानीभेरी गाउँपालिका ९ ले सञ्चालन गरेको उपचारात्मक कक्षामा विद्यार्थीको दैनिक मूल्यांकन गरिँदै ।

कोर्सभित्रकै पाठ्यक्रम अध्ययन गर्न उनले पनि हरेक दिन ९० मिनेट थप समय पढ्ने गरेका हुन् । डाँगी र ओलीमात्रै होइन, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका १ कक्षादेखि ३ कक्षासम्मका ३ सय ८५ विद्यार्थीले विद्यालयका अलावा छुट्टै कक्षा लिएका हुन् । दोस्रो त्रैमासिक परीक्षा आउनुअघिसम्म उनीहरूले हरेक दिन ९० मिनेट विद्यालयकै कोर्स अतिरिक्त अध्ययन गरेका छन् । विद्यालयको जस्तै दैनिक कार्यतालिका बनाएर २ सय ८ छात्रा र १ सय ७७ छात्रले थप कक्षा पढेका हुन् ।
एउटै कक्षामा अध्ययनरत सबै विद्यार्थीमध्ये तुलनात्मक रूपमा पढाइमा कमजोर रहेकाको पढाइ सुधार्न चौरजहारी नगरपालिका ११ र सानीभेरी गाउँपालिका १० गरेर २१ विद्यालयले तीन महिने छुट्टै उपचारात्मक कक्षा चलाएका हुन् । कक्षाका कमजोर विद्यार्थीको पढाइ सुधार गरी सबैको सिकाइ स्तर समान बनाउन विद्यालयले कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षा सञ्चालन गरेका थिए । चौरजहारी नगरपालिका १०, ११, १२, १३ र १४ र सानीभेरी गाउँपालिकाका ३, ४, ७, ८ र ९ नम्बरका विद्यालयले उपचारात्मक कक्षा चलाएका थिए ।
सरस्वती आधारभूत विद्यालय सानीभेरी गाउँपालिका ८ की प्रध्यानाध्यापक आशा रोकाले कमजोर विद्यार्थीको पढाइ सुधार्न ३ महिनासम्म उपचारात्मक कक्षा चलाएको बताइन् । ‘खै के कारणले एउटै कक्षाका विद्यार्थीको सिकाइ स्तर समान भएन,’ उनले भनिन्, ‘त्यसैले सबै समान बनाउन उपचारात्मक कक्षा सञ्चालन गरेका हौं ।’ उनले पहिलो चरणको उपचारात्मक कक्षाबाट पढाइमा सुधार भएको महसुस गरेको बताइन् । पहिलो त्रैमासिक र दैनिक कक्षा मूल्यांकनका आधारमा उपचारात्मक कक्षामा राख्ने विद्यार्थीको छनोट गर्ने गरिएको छ । २१ विद्यालयले आआफ्ना अनुकूल बिहान र बेलुका यस्ता कक्षा चलाएका छन् । उपचारात्मक कक्षाका लागि छुट्टै सहजकर्तासमेत नियुक्तगरिएको थियो ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा रुकुमेली समाज विकास केन्द्रद्वारा सञ्चालित एकीकृत परियोजनाअन्तर्गत शिक्षा कार्यक्रमले उपचारात्मक कक्षाका लागि सहजकर्ताको व्यवस्था गरिदिएको थियो । विद्यार्थीको पढाइ सुधार्न
विद्यालयले उपचारात्मक कक्षा सञ्चालन गर्ने भएपछि सहजकर्ता र आवश्यक सामग्री सहयोग गरेको एकीकृत परियोजनाका शिक्षा संयोजक केशवकुमार बीसीले बताए ।
‘कमजोर विद्यार्थीको पढाइ सुधारिएर एउटा कक्षाको सिकाइ उपलब्धि समान होस्, एउटै कक्षाका कोही धेरै कमजोर र कोही धेरै राम्रो हुने अवस्था अन्त्य गर्न सबै विद्यार्थीको सिकाइ स्तर बढाउन विद्यालयलाई सहयोग गरिएको हो,’ बीसीले भने । दोस्रो त्रैमासिक परीक्षाको नतिजाका आधारमा जाडो बिदा सकिएपछि पुन: उपचारात्मक कक्षा सञ्चालन गर्ने तयारीमा विद्यालय छन् । दोस्रो त्रैमासिक परीक्षाको नतिजा हेरेर फेरि पनि पढाइ सुधार गर्नुपर्ने अवस्था देखिए अर्को ३ महिना कक्षा सञ्चालन गर्ने तयारीमा विद्यालय रहेको शिक्षा कार्यालयका स्रोत व्यक्ति अतिराम ओलीले बताए ।
तीन महिना थप कक्षाबाट विद्यार्थीको पढाइमा गुणस्तर बढेको तथा सिकाइ उपलब्धि भएको ओलीको भनाइ छ । ‘पढेको नपढेको जस्तो हुने कुरा भएन ३/३ महिनाको पढाइले विद्यार्थीमा थप सिकाइ भएकै छ भन्ने रिपोर्ट विद्यालयले गरेका छन्,’ ओलीले भने । उक्त उपचारात्मक कक्षामा विद्यार्थीलाई खेल तथा कलाका माध्यमबाट पठनपाठन गराइन्छ ।
 कान्तिपुर दैनिकमा https://www.kantipurdaily.com/national/2018/01/20/20180120073642.html

प्रकाशित : माघ ६, २०७४ ०७:३५ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Profile Photo

Nar Bahadur Nepali

Chairperson

nepalinar@gmail.com

9851162315

Profile Photo

Narendra K.C.

Executive Director

narendraenergy@gmail.com

9843151695

Copyright © 2019 RSDC Rukum
%d bloggers like this: